बालेनको कदममा सडक विभागको चुनौती,प्रतिकार गर्न नपरोस् !

बालेनको कदममा सडक विभागको चुनौती,प्रतिकार गर्न नपरोस् !

काठमाडौ,मुक्तिनाथ खबर

सडक विभाग अन्तरगत रहेको सडक डिभिजन काठमाडौँले मिनभवन स्थित कार्यालयको गेटमा महानगरपालिकाको मिनी टिप्परबाट कार्यालय परिसर छिर्न समेत अवरोध हुने गरी फोहोर फालिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै बिभागले आपत्ति जनाएको हो ।

डिभिजनको गेटमा देशकै ठुलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याई तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने डिभिजनको भनाई छ ।

डिभिजनका अनुसार शुक्रवार मात्र काठमाडौँ महानगरपालिकाका मेयर तथा यस डिभिजनका डिभिजन प्रमुख बिच महानगर भित्रका सडक सुधारका विविध विषयमा छलफल भई नियम बमोजिम सहकार्य गरेर अगाडि जाने तथा साझा धारणा बनाई महानगर भित्रका सडक सुन्दर तथा व्यवस्थित बनाउने विषयमा छलफल भएको थियो । साथै यस अघि महानगरपालिकाबाट नियमबमोजिम यस डिभिजनमा सडक काट्न माग भई आएका सबै अनुमति दिइएको समेत जानकारी गराएको छ ।

आफ्नो कार्य क्षेत्र भित्र भएका त्रुटि औँल्याइ आवश्यक सुझाव दिए डिभिजन सकारात्मक सुझाव सम्झेर कार्यान्वयन गर्ने तर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाएर यस किसिमका अराजक व्यवहार देखाए आगामी दिनमा किमार्थ सह्य नहुने सडक डिभिजन काठमाडौँले स्पष्ट पारेको छ । यसको प्रतिकार गर्न समेत सडक डिभिजन काठमाडौँ बाध्य हुने विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।