संघीयता, निर्वाचन प्रणाली र धर्म : कांग्रेस नीति महाधिवेशनका मुख्य मुद्दा

संघीयता, निर्वाचन प्रणाली र धर्म : कांग्रेस नीति महाधिवेशनका मुख्य मुद्दा

विधानतः महासमिति बैठक भए पनि नीति माथि बहस हुने भएकाले यसको विशेष महत्व रहनेछ । बैठकमा संघीयता, धर्मनिरपेक्षता र निर्वाचन प्रणालीका विविध पक्षमा गहन छलफल हुने अवस्था निर्माण हुँदै गएको देखिन्छ ।

नेपाली कांग्रेसले इतिहासमै पहिलो पटक नीति महाधिवेशन गर्दैछ । १३-१५ मंसिर २०८० मा नीति महाधिवेशनका उद्देश्य प्राप्त गर्ने गरी महासमिति बैठक आहृवान गरिएको छ । नेतृत्व चयन बाहेकका अन्य काम बैठकले गर्न सक्ने भएका कारण पनि यसलाई महत्वका साथ हेरिएको छ ।

विधानतः महासमिति बैठक भए पनि यसमा मूलतः नीति माथि बहस हुने भएकाले यसको पार्टीभित्र भिन्नै महत्व रहने अवस्था छ । संघीयता, धर्मनिरपेक्षता, निर्वाचन प्रणाली, आर्थिक, सांगठनिक, सामाजिक, सुशासन, अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता विषयमा पार्टीभित्र गम्भीर बहस हुनुपर्ने अवस्थामा यो बैठक हुन लागेको कांग्रेस नेताहरूको भनाइ छ ।

महासमिति बैठकले विधान समेत संशोधन गर्न सक्दछ । तर, नीति महाधिवेशनका रूपमा महासमिति बैठक आयोजना भएकाले यसमा नीति माथिकै बहसले प्रधानता पाउने महामन्त्री गगन थापाको भनाइ छ । थापाका अनुसार त्यसैले विधान संशोधनले यसपटक प्राथमिकता पाउँदैन ।

‘यो पटकको महासमिति बैठक पहिलेका महासमिति बैठकहरू भन्दा फरक हुन्छ । जहाँ हामी नीतिका बारेमा कुरा गर्छौं’, महामन्त्री थापा भन्छन् ।