नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट पुष्टि

नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट पुष्टि

काठमाडौँ । मुक्तिनाथ खबर ।

नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएकाे परीक्षणमाकोरोना भाइरसको भेरियन्ट ‘ओमिक्रोन’ को नयाँ सब–भेरियन्ट ‘केपी–१’, ‘केपी–२’, ‘केपी–३’ र ‘केपी–४’ पुष्टि भएको हो । 

परीक्षण अनुसार ४० जनाको नमुना परीक्षण गर्दा ‘केपी–१’ १२ जनामा र ‘केपी–२’ १७ जनामा पुष्टि भएको छ । यस्तै १/१ जनामा ‘केपी–३’ र ‘केपी–४’ पुष्टि भएको प्रयोगशालाले जनाएको छ । ४० जनामा गरिएको नमुना परीक्षणमा ‘जिएन १’ ७ जनामा र र ‘बिए २’  २ जनामा पुष्टि भएको पनि प्रयोगशालाका सूचना अधिकारी कृष्ण प्रसाद जैशीले जनाएका छन् ।  
जैशीका अनुसार र्याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० जनामा नमुनाको ‘जिन सिक्वेन्सिङ’ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी १ र केपी २’ पुष्टि भएको हो । 

यस्तै विज्ञहरूले दिर्घरोगी र वृद्धावृद्धलाई विशेष सावधानी अपनाउन सुझाव दिएका छन् । संक्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुनले दिर्घरोगी र वृद्धवृद्धालाई विशेष सावधानी अपनाउन सुझाव दिएका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय प्रवक्ता डा. प्रकाश बुढाथोकीले पछिल्लो पटक पुष्टि भएको ओमिक्रोनका सब–भेरियन्टहरु पनि सामान्य भएको बताए ।
कोरोनाको स्वास्थ्य मापदण्ड (मास्क लगाउने, हात धुने, भिडबाट टाढा रहने लगायत) पालना गरेमा कोरोना मात्रै नभई अन्य विभिन्न संक्रामक रोगबाट जोगिन सकिने चिकित्सकको भनाई छ ।