सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) को सिक्किम विधानसभामा एकलौटी जित

सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) को सिक्किम विधानसभामा एकलौटी जित

काठमाण्डौं मुक्तिनाथ खबर

सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले सिक्किम विधानसभामा एकलौटी जित हात पारेको छ । अप्रिल १९ मा भएको विधानसभा चुनावको नतिजा आइतबार आएको हो । भारत निर्वाचन आयोगका अनुसार एसकेएमले ३१ सिटमा जित हात पारेको छ । त्यस्तै पूर्वमुख्यमन्त्री पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ)ले १ सिटमा चित्त बुझाउनु परेको छ ।

पूर्वमुख्यमन्त्री चाम्लिङ आफैं दुवै क्षेत्रबाट पराजित भएका छन् । पोक्लोक–कामराङ विधानसभा क्षेत्रमा पूर्वमुख्यमन्त्री चाम्लिङ सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) का भोजराज राईसँग पराजित भएका हुन् । राईसँग चाम्लिङ ३ हजार ६३ मतको अन्तरले पराजित भएका हुन् । राईले ८ हजार ३७ मत ल्याउँदा चाम्लिङले ४ हजार ९ सय ७४ मत मात्र प्राप्त गरे । यस क्षेत्रमा भारतीय जनता पार्टीका अर्जुन राईले ७ सय ३९ मत ल्याए ।

पूर्वमुख्यमन्त्री चाम्लिङ नाम्चेबुङ क्षेत्रबाट पनि पराजित भएका छन् । उनलाई यस क्षेत्रमा एसकेएमका राजु बस्नेतले हराएका हुन् । बस्नेतले ७ हजार १ सय ९५ मत ल्याउँदा चाम्लिङले ४ हजार ९ सय ३९ मत प्राप्त गरेका छन् । वर्तमान विधानसभामा चाम्लिङ एसडीएफका एक्ला सांसद थिए । स्यारी विधानसभा क्षेत्रमा एसकेएमका कुंगा निमा लेप्चालाई हराउँदै एसडीएफका तेन्जिङ नोर्बु लाम्ठा विजयी भएका छन् ।

वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले) भने रेनोक र सोरेङ–चाकुङ दुवै क्षेत्रमा विजयी भएका छन् । सोरेङ–चाकुङमा तामाङले एसडीएफ उम्मेदवार डा. एडी सुब्बालाई ७ हजार ३ सय ९६ मतको अन्तरले हराएका छन् । तामाङले १० हजार ४ सय ८० मत ल्याउँदा सुब्बाले ३ हजार ८४ मत ल्याए । त्यस्तै रेनोक क्षेत्रमा मुख्यमन्त्री तामाङले पूर्वमन्त्रीसमेत रहेका एसडीएफ उम्मेदवार सोमनाथ पौड्याललाई ७ हजारभन्दा बढी मतले हराए ।

सिक्किममा एसकेएमले चुनाव जित्नुमा लोककल्याणकारी योजनाहरूलाई कार्यान्वयन गर्नु भएको विश्लेषकहरूको भनाइ छ । सिक्किमका नेपाली समुदायलाई लागेको ’विदेशी’को ट्याग हटाउन सफल भएको समेत एसकेएमको दाबी छ । केही दिनअघि सिक्किममा सरकार चलाएको ५ वर्ष पुगेको अवसरमा एसकेएमले आफ्ना उपलब्धिहरू सार्वजनिक गरेको थियो । त्यस्तै दलीय आधारमा हुने पञ्चायत चुनाव हटाइनुलाई पनि एसकेएमले आफ्नो उपलब्धिका रूपमा हेरेको छ ।