भारतको बैंग्लोरमा जलेर पाँच नेपालीको मृत्यु

भारतको बैंग्लोरमा जलेर पाँच नेपालीको मृत्यु

मुक्तिनाथ खबर
भारतको बैंग्लोरमा जलेर पाँच नेपालीको मृत्यु भएको छ । खाना पकाउने ग्याँस लिक हुँदा जलेर घाइते भएका बझाङको जयपृथ्वी नगरपालिकाका वडा नं। ११, सुइलका एकै परिवारका पाँच जनाको मृत्यु भएको हो ।

घाइते भएका जयपृथ्वी नगरपालिका–११ सुइलका मदन बोहरा, उनकी श्रीमती प्रेमजला बोहरा, छोरा प्रशान्त, छोरीहरू अनिता र निताको उपचारका क्रममा मृत्यु भएको आफन्तले बताएका छन् ।
गत बुधबार राति ११ बजेतिर सबै परिवार कोठामै भएको बेला खाना पकाउने क्रममा ग्याँस लिक हुँदा आगलागी भएको थियो ।

झ्याल नभएको कोठामा बसिरहेका उनीहरूको कोठामा ग्याँस लिक भएको र सलाई बाल्ने क्रममा आगलागीबाट बोहरा परिवारका सबै सदस्य जलेर घाइते भएका थिए । घाइते पाँचै जनालाई नजिकै रहेको भिक्टोरिया अस्पताल लगिएको थियो ।

उपचारमा सहयोग गर्न आर्थिक सहयोगमा जुटेकी जमुना पौडेलका अनुसार सोमबार बिहान घाइतेमध्ये छोरी निता बोहरा र बुवा मदन बोहराको पनि मृत्यु भएको हो । ३० वर्षीया प्रेमजलाको शनिवार साँझ मृत्यु भएको थियो । यस अघि उनका आठ वर्षीया छोरी अनिता र साढे चार वर्षका छोरा प्रशान्तको जलेर मृत्यु भएको थियो ।

मदन विगत ६ वर्षदेखि परिवारसहित भारतमा बस्दै आएका थिए । उनी चौकीदारको काम गरिरहेका थिए । उनकी श्रीमती पनि स्थानीयको घरमा काम गर्दै आएकी थिइन् ।