प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

प्रचण्ड, देउवा र  ओलीबीच भेटवार्ता

मुक्तिनाथ खबर
सहकारी प्रकरण छानबिन गर्न संसदीय समिति बनेको केही दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

बालुवाटारमा सोमबार प्रचण्ड, ओली र देउवाबीच डेढ घण्टा बढी छलफल भएको थियो ।

थुप्रै विधेयकहरू अड्किएर बसेकाले यिनीहरूलाई प्रभावकारी रूपले अगाडि बढाउने विषयमा छलफल भएको जानकारी बालुवाटार स्रोतले दियो । तर, स्रोतले काठमाडौं महानगरपालिकाका मेयर बालेनले सामाजिक सञ्जालमा लेखेको विषयमा छलफल नभएको दाबी गर्‍यो ।

बालेनले सोमवार मात्रै गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा एमाले अध्यक्ष ओलीलाई लाञ्छना लगाउँदै उनीमाथि गम्भीर सवाल उठाएका थिए । तर, यस्तो विषयमा कुरा नभएको छलफलमा सहभागी नेतासँग निकट स्रोतले दाबी गर्‍यो ।

नयाँ दल र स्वतन्त्रका नाममा अराजकता बढ्दा कसैलाई पनि फाइदा नहुने उनले बताए ।

यसअघि बालेनले सिंहदरबारमा आगो लगाउँछु भनेपछि बालेनमाथि कारबाही गर्न सकिने बारे छलफल भएको थियो ।

शीर्ष तीन नेता भेट्नुअघि बालुवाटारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पुगेका थिए ।।