आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित

आईसीसी टी–२० विश्वकपको  पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित

मुक्तिनाथ खबर ।
नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेदरल्यान्ड्ससँगग पराजित भएको छ।
मंगलबार राति भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटको हार व्यहोर्दै विश्वकपको सुरुवात गरेको हो।
नेपालले दिएको १ सय ७ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले ८ बल अगावै ४ विकेटको क्षतिमा भेट्टायो।

नेपालविरुद्ध जित निकाल्ने क्रममा म्याक्स ओ डाउडले अर्धशतक पूरा गरे।
डाउड ५४ र बास डे लिड ११ रनमा अविजित रहे। म्याक्स ओ डाउडले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

कप्तान स्कट इडवार्ड ५ रन बनाउँदा अविनास बोहोराको बलमा बोल्ड आउट भए।
अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १९ ओभर २ बलमा १०६ मा समेटिएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन जोडेका थिए । १० रन जोड्दा ओपनर आसिफ शेखलाई गुमाएको नेपालले १५ रन जोड्दा अर्का ओपनर कुशल भुर्तेललाई गुमाएको थियो ।

आसिफ ४ र कुशल ७ रन बनाएर आउट भए । ४० रन जोड्दा अनिल शाह, ५२ रन जोड्दा कुशल मल्ल र ५३ रन जोड्दा दीपेन्द्रसिंह ऐरी आउट भए । अनिल ११, कुशल मल्ल ९ र दीपेन्द्र १ रन जोडे । सोमपाल कामी ०, गुल्सन झा १४ र करन केसीले १७ रन जोडेर आउट भए ।

बलिङमा नेदरल्यान्डसका टीम प्रीङल र लोलन भान विकले ३–३ विकेट लिए । पाउल भान मिर्केन र बास डी लेडीले २–२ विकेट लिए ।।